श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा बैठक आह्वान गर्नुपर्ने माग राख्दै उनले ‘कोठे बैठक’ मा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पारेका हुन्।
आज सिंहदरबारमा प्रधानमन्त्रीले कोशी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि उक्त छलफलमा सहभागी हुन निमन्त्रणा दिएको थियो। तर साम्पाङले संसद् बैठक नै नबोलाई अनौपचारिक छलफल आयोजना गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। उनले भने, “सदन नबोलाई कोठाभित्रको बैठक किन? हामी यस्तो बैठकमा जाँदैनौँ।”
उनले प्रतिनिधिसभाको नियमित बैठक सञ्चालन गर्न सरकारलाई दबाब दिँदै कम्तीमा हप्तामा एकपटक बैठक राख्नुपर्ने बताएका छन्। जनताका सवालबाट भाग्न नपाइने उल्लेख गर्दै उनले सबै प्रश्नको जवाफ दिन सरकार तयार हुनुपर्ने धारणा राखे। साम्पाङको यो कदमले वर्तमान राजनीतिक अभ्यास, विशेषगरी संसद् सञ्चालन र कार्यकारीको कार्यशैलीबारे थप बहस सिर्जना गर्ने देखिएको छ।




















