केपी शर्मा ओलीको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्षीकरण रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। सोमबार न्यायाधीश मेघराज पोखरेल को इजलासमा सुनुवाइ हुँदै आदेश दिइएको हो। यसअघि पूर्वगृहमन्त्री रमेश लेखकका हकमा पनि समान आदेश जारी भइसकेको थियो।

ओलीको पक्राउविरुद्ध उनकी पत्नी राधिका शाक्य ले रिट दायर गरेकी थिइन् भने लेखकको गैरकानुनी पक्राउबारे उनकी पत्नी यशोदा लेखक ले आइतबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। भदौ २३-२४ को घटनाको छानबिन गर्न गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओली र लेखकविरूद्ध अनुसन्धान र अभियोजन सिफारिस गरेको थियो।

मुलुकी अपराध संहिताको २०७४ को दफा १८१ र १८२ अनुसार सिफारिस कार्यान्वयन गर्दै सरकारले शुक्रबार निर्णय लिएपछि प्रहरीले शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।