राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाकाे सभामुखमा निर्विराेध चयन भएका छन् । सभामुखका लागि अर्यालकाे एकल उम्मेदवारी परेकाे थियाे । यसअघि नेकपा एमालेले उम्मेदवारी दिने तयारी गरेकाे थियाे । तर, एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विराेध चयन भएका हुन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखका लागि रास्वपाका अर्यालकाे एकल उम्मेदवारी परेकाे बताए । सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । उनले भने, ‘सभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावका लागि बिहान ११ देखि दिउँसाे २ बजेसम्मकाे समय निर्धारण गरिएकाे थियाे । याे समयमा एक मात्र प्रस्ताव दर्ता हुन आएकाे छ ।’
शुक्रबार अर्यालले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो । प्रस्तावक रवि लामिछाने र समर्थक स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमसहितले अर्याललाई सभामुख पदमा निर्वााचित गरियाेस् भनेर प्रस्ताव दर्ता गराएका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।



















