सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई मुद्दाको टुंगो नलाग्दासम्म यथास्थितिमा राख्न आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै भट्टलाई हिरासतमै राख्न र थप कागजात तथा कारणसहितको लिखित जवाफ पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टसँग जोडिएको करिब ६ अर्ब रुपैयाँ बराबरका शंकास्पद कारोबारबारे अनुसन्धान गरिरहेको छ । जगदम्बा स्टिल, हिमालयन रि, इन्फिनिटी होल्डिङ, आयुष्मा नेपाल र अञ्जना नेपालसँग सम्बन्धित कारोबारमा उनको संलग्नता देखिएको दाबी गरिएको छ ।
यसअघि चैत १९ मा पक्राउ परेका भट्टलाई १० दिन हिरासतमा राख्ने अनुमति ललितपुर जिल्ला अदालतले दिएको थियो। अनुसन्धानपछि केही सातामै मुद्दा दायर गर्ने तयारी भइरहेको छ।


















