पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले मुद्दालाई अन्तिम सुनुवाइको चरणमा प्रवेश गराउँदै प्रतिवादीहरूलाई लिखित बहस नोट पेस गर्न आदेश दिएको छ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत मुछिएको यो भ्रष्टाचार मुद्दा अब टुंगो लाग्ने दिशातर्फ अघि बढेको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बुधबार प्रतिवादी पक्षका कानुन व्यवसायीलाई बहस नोट पेश गर्न निर्देशन दिएको हो। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गर्दै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको माग गरेको थियो।
अख्तियारको आरोप अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले सरकारी सार्वजनिक जग्गा निजी तथा संस्थागत स्वार्थमा हस्तान्तरण गर्न भूमिका खेलेका थिए। मन्त्रिपरिषद्को निर्णयमार्फत हदबन्दीभन्दा बढी जग्गा खरिद–बिक्री तथा सट्टापट्टा गर्न स्वीकृति दिइएको विषयलाई मुख्य आधार बनाइएको छ। प्रकरणमा करिब ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा कारोबार भएको दाबी गरिएको छ। अब बहस नोट पेस भएसँगै अदालतले अन्तिम फैसला प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।


















