हार हुनेबित्तिकै आत्तिनेले जित हासिल गर्न सक्दैनः माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले पराजयबाट आत्तिनेले जित हासिल गर्न नसक्ने तर्क गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उकालो-ओरालोको यात्रा सधैं भइरहने बताउँदै यसबारे समीक्षा गर्नुपर्ने भनेका छन् । ‘कम्युनिस्ट पार्टी कसरी उकालो ओरालो हुँदै बाटो अघि बढेको छ । यो सबैको समीक्षा गर्नुपर्ने आवश्यकता छ । हामीले देखेका छौं, जीवन पनि त्यस्तै हो,’ नेपालले भने, ‘सामाजिक जीवन पनि त्यस्तै हो । राजनीतिक जीवन पनि त्यस्तै हो । उकालो र ओरालो आउँछ । यसलाई हामीले आत्मसाथ गर्नुपर्छ ।’

वडा तहबाटै पार्टीले धुलो टकटक्याएर अघि बढ्नुपर्नेमा माधव नेपालको जोड छ । ‘हामी वडाबाट तल झरेपछि धुलो टकटक्याएर अघि बढ्न सक्नुपर्छ । त्यसपछि हामी नयाँ नयाँ सफलता हासिल गर्न सक्छौं,’ उनले भने । साम्राज्यवादले संसारमा सकंट सिर्जना गरिरहेको उनले जिकिर गरे ।