जेनजी रेड फोर्सको प्रश्न:डोजर रोक्न आफ्नै छाती थाप्ने रविको बाचा कहाँ हरायो ?

जेनजी रेड फोर्स नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयप्रति कडा आपत्ति जनाएको छ । प्रधानमन्त्री बालेन शाहले दिएको बस्ती खाली गराउने निर्देशनलाई संगठनले अमानवीय र अन्यायपूर्ण कदम भन्दै आलोचना गरेको हो । संयोजक स्मृति तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा बिना विकल्प, क्षतिपूर्ति र उचित व्यवस्थापन वर्षातको मुखमा गरिब वर्गमाथि डोजर चलाउनु गलत भएको उल्लेख छ।

विगतको चुनाव सम्झिँदै रेड फोर्सले वर्तमान प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका सत्तासीन नेताहरूले दिएका अभिव्यक्तिहरूको स्मरण गराएको छ।

निर्वाचनका बेला भोटका लागि ‘हामी सुकुम्बासी हटाउँदैनौँ, बरु डोजर चले आफैँ छाती थाप्न आउँछौँ’ भन्ने नेताहरूले अहिले सत्तामा पुगेपछि तिनै जनतालाई सडकमा पुर्‍याउन लागेको भन्दै विज्ञप्तिमा आक्रोश पोखिएको छ।