बढ्दो महँगीले विद्यार्थीको जनजीवन कष्टकर बनेको भन्दै अमृत क्याम्पस (अस्कल)का विद्यार्थीहरूले सिर्जनात्मक विरोध प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)अमृत क्याम्पसको नेतृत्वमा विद्यार्थीहरूले सोमबार कक्षाकोठामै ‘डिजिटल’ माध्यमबाट साङ्केतिक प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूमाथि थपिएको आर्थिक भार र सरकारको उदासीनताप्रति ध्यानाकर्षण गराउन कक्षाकोठामै डिजिटल प्लेकार्डसहित प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘महँगीको मार, विद्यार्थीमाथि भार, ४५ प्रतिशत छुट दे सरकार !’ र ‘महँगी नियन्त्रण गर, नत्र आन्दोलनको सामना गर !’ जस्ता नाराहरू सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सार्वजनिक गरेका थिए।


















