“साँचो गणतन्त्र र श्रमिक अधिकारका लागि प्रगतिशील नीतिको खाँचोः भट्टराई”

काठमाडौं, बैशाख १८ — “हाम्रो सरोकार, श्रमिकलाई स्वदेशमै सम्मानजनक रोजगार” भन्ने मूल नाराका साथ नेपाल समाजवादी ट्रेड युनियन महासंघ -CSTU–Nepal_ ले १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ। उक्त अवसरमा आयोजित विशेष कार्यक्रममा श्रम जागरण स्मारिका विमोचनसमेत गरिएको थियो।

कार्यक्रममा मनतब्य राख्दै डॉ. बाबुराम भट्टराई ले सुकुम्बासी बस्तीमा डोजर चलाउनु अघि उचित ब्यवस्थापन हुनु पर्नेमा जोड दिदै विकल्पविहीन रूपमा बस्ती हटाउनु अनुचित नभएको बताउनु भयो । उहाँले अधिकांश सुकुम्बासी श्रम गरेर जीविकोपार्जन गर्ने वर्ग रहेको उल्लेख गर्दै राज्यले उनीहरूका लागि व्यवस्थित पुनर्वासको नीति ल्याउनुपर्ने धारणा राख्नु भयो ।

भट्टराईले नेपालमा उपलब्ध जल, जंगल र जनशक्तिको सही व्यवस्थापनमार्फत मात्रै समृद्धि हासिल गर्न सकिने बताउनु भयो । साथै भ्रष्टाचार नियन्त्रण, नीति सरलीकरण र स्वदेशमै उत्पादन वृद्धि गर्न सके अर्थतन्त्र बलियो बन्ने धारणा राख्नु भयो । कार्यक्रममा अहिलेको गणतन्त्र र धर्मनिरपेक्षता व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको समेत बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रगतिशिल लोकतान्त्रिक पार्टीका सल्लाहकार राम कार्कीले श्रमिक वर्गको विगतदेखि वर्तमान अवस्थासम्मको समीक्षा गर्दै उनीहरूको अधिकार, सम्मान र अवसरका विषयमा गम्भीरत पुर्वक लाग्नु पर्ने बताउनु भयो । विगतमा श्रमिकहरूले अत्यन्त कष्टकर जीवन बिताउनुपरेको, बिहानदेखि रातिसम्म काम गर्दा परिवारसँग समय बिताउन नसक्ने अवस्था रहेको बिगत समेत उहााले स्मरण गराउनु भयो । उहाँले नेपालको राजनीतिक अवस्थाबारे चर्चा गर्दै यथास्थितिवादी, राजतन्त्र चाहने पुनस्र्थापनावादी, र प्रगतिशील परिवर्तन चाहने आफुहरु रहेको बताउनु भयो ।

कार्यक्रममा अमृत पुरीले साँचो अर्थमा जनमुखी शासन प्रणाली आवश्यक रहेको जोड दिदै विज्ञानमा आधारित सोच, समानता र श्रमिक हितमा केन्द्रित नीतिको हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा केशबराज अर्यालले समाज ‘शोषक’ र ‘शोषित’ वर्गमा विभाजन भएको भन्दै श्रमिकहरू अझै पनि अन्यायमा परेको उल्लेख गर्नु भयो ।

महासंघले आगामी दिनमा श्रमिक अधिकारको रक्षा, रोजगारी सिर्जना र सामाजिक न्यायका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा जनक शाह, सोनाम सिंह स्यान्ताङ, हिसिला यमी ,आशा तामाङ लगायतको सहभागिता रहेको थियो ।