बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ: सुदन

पूर्वमन्त्री सुदन किरातीले सुकुमबासी बस्ती हटाउने क्रममा राज्यले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाहमा अधिनायकवादी प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले पुराना पार्टीहरूले जनताको विश्वास गुमाएको अवस्थामा वर्तमान नेतृत्वमा हिटलर र मुसोलिनी बन्ने सोच देखिएको आरोप लगाएका छन्। उनले विगतमा परिवर्तनको आशा बोकेका जनताले विश्वास गरेको नेतृत्वबाट अहिले उल्टो व्यवहार भइरहेको बताएका छन्।

किरातीले गरिब र कमजोर वर्गमाथि डोजर चलाइएको घटनालाई राज्यसत्ताको दुरुपयोगको संज्ञा दिएका छन्। उनले सुकुमबासी समस्यामा ‘होलसेल’ दृष्टिकोण अपनाइएको भन्दै वास्तविक पीडितहरू अन्यायमा परेको उल्लेख गरेका छन्।

किरातीले जनमतलाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप पनि लगाएका छन् । उनका अनुसार यसले ‘जनता विरोधी भाष्य निर्माण’ गरिरहेको छ र देशलाई ‘ओलिगार्ची स्टेट’ तर्फ धकेलिरहेको छ।