नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदीय मर्यादा पालन गर्न आग्रह गरेका छन्।
प्रचण्डले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बैठकबाट उठेर हिँडेको विषयमा आज संसदमै टिप्पणी गरेका हुन्।
‘हिजोको बैठकमा जे गतिविधी देखियो। प्रधानमन्त्रीले निश्चित मर्यादा पालना नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन’, प्रचण्डले भने, ‘यसमा हामी सबैको ध्यान जाओस्। हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीको कार्यशैलीमा।’
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सोमबर प्रधानमन्त्री शाह बैठक छाडेर हिँडेका थिए। लगत्तैको प्रतिनिधि सभामा नेकपा एमालेले प्रधानमन्त्रीले नीति तथा कार्यक्रम बहिष्कार गरेको भन्दै आपत्ति जनाएको थियो। त्यस्तै नेपाली कांग्रेसले पनि आजको बैठकमा प्रधानमन्त्रीको कार्यशैलीको विरोध गरेको थियो।
दलका नेता प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री शाहबारे गरेको टिप्पणीको समेत समर्थन जनाए।
आङ्देम्बेले ‘आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे’ भन्दै प्रश्न गरेका थिए।
उनले प्रधानमन्त्री शाहले बैठक छाडेर हिँडेकोमा गिनिज बुक मा प्रधानमन्त्रीको नाम लेखिन लागेको भन्दै व्यङ्ग्य गरे।
‘यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दु:ख व्यक्त गरौं’, आङ्देम्बेले भने, ‘सामाजिक सञ्जालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न- यस्तो पनि हुन सक्छ, कि अचानक उहाँको स्वास्थ स्थिति गम्भीर बनेकोले उहाँ हिँड्नु भएको होला। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने, भएको के हो अविलम्ब स्वास्थ परिक्षण गरेर संसदलाइ जानकारी गराइयोस्! हुनसक्छ, सत्ताको भारी अपेक्षा गरेभन्दा धेरै ठूलो भएर होला, हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको। खैर, जे होस्, प्रधानमन्त्रीले अहंकार र मर्यादाहिन व्यवहार प्रदर्शन गर्नु दुर्भाग्य हो।
हिजोको उहाँको व्यवहरले जनताको मन कुँडिएको छ। देशको शिर झुकेको छ। यो सदनको गरिमा र इज्जतमा दाग लागेको अनुभूति हामीलाई भएको छ।’


















