नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकत्वतिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन्। ३३ औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आईतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए । उनले सरकार बनेको करिव ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थाहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताए ।
उनले ट्रेड युनियन तथा स्ववियु खारेज गर्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुम्बासीहरुमाथिको डोजर आतंकले मुलुक निर्वाचित अधिनायकतिर अघि बढिरहेको टिप्पणी गरे। उनले सरकारले संसद, राष्ट्रपति एवं संवैधानिक आयोगहरुको अवमूल्यन गरिरहेको आरोप पनि लगाए । उनले भने,‘अब देशको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडमा पुग्दै गरेको हामीले देखिरहेका छौँ । नयाँ सरकार बनेको ५० दिन हुन हुन लागेको छ । तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको छ ।
टे«ड युनियन खारेज गर्ने प्रयत्न, स्ववियु खारेज गर्न खोज्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरुमाथि डोजर आतंक, श्रमजिवी वर्गहरुलाई दिइएका सामाजिक सुरक्षाका विषयहरुलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरु संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरुको अवमूल्यनमार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ । यसले एउटा बलियो लोकतान्त्रि, प्रगतिशील प्रतिपक्षको माग गर्दछ । संसदमा हाम्रो उपस्थिति तुलनात्मक रुपमा कमजोर छ । तर जनता, मिडियाकर्मीहरु र सामाजिक संघसंस्थाहरुले यसमा भूमिका खेलेर लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्न नदिन र संविधानको रक्षा गर्न, सामाजिक न्यायसहितको बाटो तर्जुमा गर्न समयले आज हामीलाई कठोर अग्निपरिक्षाको सामू उभ्याएको छ ।’
उनले संसदमा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भएपनि जनता, मिडियाकर्मी र सामाजिक संघसंस्थाले संविधानको रक्षा र सामाजिक न्यायसहितको बाटोमा मुलुकलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।




















