प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल-भारत सीमा विवादबारे दिएको अभिव्यक्तिपछि देशभित्र राजनीतिक बहस चर्किएको छ भने भारतीय पक्षले पनि औपचारिक प्रतिक्रिया जनाएको छ।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि केही स्थानमा भारतीय भूभाग अतिक्रमण गरेको हुन सक्ने संकेत गरेका थिए। उनको यो भनाइपछि परराष्ट्र मन्त्रालयले स्पष्ट गर्दै उक्त अभिव्यक्ति सीमा–सम्बन्धी व्यापक विवाद र अतिक्रमणको सन्दर्भमा आएको बताएको थियो।
यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार साप्ताहिक प्रेस ब्रिफिङमा उक्त विषयबारे भारतको धारणा सार्वजनिक गरेका छन्। उनले नेपाल र भारतबीच करिब ९८ प्रतिशत सीमा सीमांकन सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी स्थानहरूमा सीमासम्बन्धी विवाद रहेको बताए। जायसवालका अनुसार बाँकी क्षेत्रहरूमा क्रस–बोर्डर अतिक्रमण र ‘नो म्यान्स ल्यान्ड’ सम्बन्धी समस्या देखिँदै आएको छ। उनले यी विषय समाधानका लागि दुई देशबीच स्थापित संयन्त्रमार्फत छलफल भइरहेको र वार्ताबाट समाधान सम्भव हुने विश्वास व्यक्त गरे।
यसैबीच, प्रधानमन्त्री शाहले संसद्मा सीमा विवादसँगै इस्ट इन्डिया कम्पनीसँग भएका ऐतिहासिक सन्धिहरूको सन्दर्भ जोड्दै यो विषय बेलायतसँग पनि सम्बन्धित हुन सक्ने धारणा राखेका थिए। तर भारतले भने नेपाल–भारत सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको दोहोर्याउँदै यसमा कुनै तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट पारेको छ। यसै अवसरमा भारतीय पक्षले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भेटवार्ताबारे पनि टिप्पणी गरेको जनाइएको छ।


















