यो ढंगले पार्टी अगाडि बढ्न सक्दैन, पुनर्गठन गरौं: विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको वर्तमान कार्यशैली र संगठनात्मक संरचनामा पुनर्विचार आवश्यक रहेको बताएका छन् । पौडेलले एमाले अहिले जसरी सञ्चालन भइरहेको छ, त्यही ढंगले अगाडि बढ्न नसक्ने निष्कर्षमा पार्टी पुगेको बताए । उनले संगठनात्मक जीवनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि कार्यदल गठन गरिएको जानकारी दिए ।

‘हाम्रो पार्टी अहिले जसरी सञ्चालन भइरहेको छ, त्यही रूप र ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ । पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता छ,’ पौडेलले भने, ‘निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्न तथा पुनर्गठनसम्बन्धी प्रस्ताव ल्याउन कार्यदल निर्माण गरिएको छ। कार्यदलले त्यसअनुसार काम अगाडि बढाइरहेको छ।’