सरकारले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जना सचिवको सरुवा गरेको छ। मन्त्रालय पुनर्संरचना र प्रशासनिक आवश्यकताका आधारमा गरिएको यो सरुवामा केहीलाई नयाँ जिम्मेवारी दिइएको छ भने केहीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उपराष्ट्रपतिको कार्यालयमा कार्यरत डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयसँग सम्बन्धित भनिएको घटनामा पुस्करले ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गर्दै एसएमएस पठाएको आरोपपछि उनलाई प्रहरीले करिब ७ घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
नेपाल ट्रस्टको कार्यालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ। जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बन गरिएको छ। अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको सचिवमा सरुवा गरिएको छ भने राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।
त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मालाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। सरुवा भएका सबै सचिवहरूले सम्बन्धित पत्र बुझिसकेका प्रधानमन्त्री कार्यालयले जनाएको छ। मन्त्रालयको संरचना २२ बाट १८ मा घटाइएपछि गाभिएका मन्त्रालयका सचिवहरूलाई नयाँ व्यवस्थाअनुसार समायोजन गरिएको हो।


















