संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई पुनर्जीवन दिन सरकारले उपयुक्त व्यवस्थापकीय मोडेलको खोजी गरिरहेको बताएका छन्। प्रतिनिधिसभामा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले निगमको अवस्था अत्यन्त कमजोर बनेको उल्लेख गरे। उनका अनुसार ६५ अर्ब रुपैयाँभन्दा बढी ऋण र वार्षिक थपिँदै जाने करिब २ अर्ब रुपैयाँको भारले निगम गम्भीर संकटमा छ।
मन्त्री पौडेलले निगमलाई “पखेटा भाँचिएको चरा”सँग तुलना गर्दै संरचनागत सुधार बिना यसको सुधार सम्भव नहुने बताए। सरकारले नेपाल वायुसेवा निगमलाई सार्वजनिक–निजी साझेदारी (PPP) वा अन्य उपयुक्त मोडेलमा लैजाने विषयमा राष्ट्रिय बहस अघि बढाइरहेको उनले जानकारी दिए। उनका अनुसार, निगमलाई पुनः सबल बनाउन निजी क्षेत्रको सहभागिता आवश्यक हुन सक्छ। मन्त्री पौडेलले भने, “निगमको समस्या बजेटले मात्र समाधान हुने विषय होइन। संरचनागत सुधार र नयाँ मोडेलमार्फत नै यसलाई पुनर्जीवन दिनुपर्छ।” सरकारले निगमको दीर्घकालीन सुधार र पर्यटन क्षेत्रको दिगो विकासका लागि रणनीतिक योजना अघि बढाइरहेको पनि उनले स्पष्ट पारे।
















