पासपोर्ट खरिदसम्बन्धी भ्रष्टाचार अनुसन्धानका क्रममा बयानका लागि बोलाइएपछि पूर्वमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छिन्।
अख्तियार स्रोतका अनुसार बुधबार पठाइएको इमेलमा आफू उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने तर अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ। यसअघि अख्तियारले उनको बूढानीलकण्ठस्थित घरमा म्याद तामेल गरी तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो।
इ-पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनुसन्धानमा कागजी रूपमा प्रत्यक्ष संलग्नता नदेखिए पनि ठेक्का प्रक्रिया डिजाइन र प्रभाव पार्ने भूमिकाबारे उजुरीहरू परेको अख्तियार स्रोतको दाबी छ। सोही आधारमा अनुसन्धान अघि बढाइएको बताइएको छ।















