धर्म र अध्यात्म १६

यो आलेखमा सत्संग बारे चर्चा गर्ने प्रयास गरिएको छ । सत्यको नजिक पुग्ने प्रयत्न नै सत्संग हो । भतृहरिको शब्दमा सत्संगले अज्ञानतालाई नाश गर्छ, बुद्धिलाई शुद्ध बनाउछ, तृष्णा र मोहजालबाट बचाउछ । अतः सत्संग नै कलिको सही मार्ग हो । सत्संगले भक्तिको ढोका खुल्छ जहाँबाट ईश्वर नजिक भई दर्शनको अभिलाषा पूरा हुन्छ ।
सत्संगले बुद्धिको जडतालाई नाश गर्छ, पापको सन्चितिलाई घटाएर धर्मको अभिवृद्धि गराउछ । खराव बानीलाई दूर गर्दै सत्मार्गमा डोर्याउने एक मात्र माध्यम सत्संग हो । धेरै शास्त्रको ज्ञान नहुँदा पनि सहजै मुक्ति दिलाउने माध्यम सत्संग नै भएकाले घोर कलियुगमा जो संग प्रसस्त धन छैन, बा धेरै समय छैन बा लामो धर्म कर्ममा संलग्न हुने अबस्था छैन, शरिर पनि जीर्ण बा रोगी हुन सक्छ, यतिबेला गुरु कृपा राम नामको सत्संगले नै जीवन उद्धार हुन सक्छ । राम चरित मानसमा सन्त तुलसीदास भन्नुहुन्छः बिनु सत्संग विवेक नहोइ । राम कृपा बिनु सुलभ न सोई ।। सठ सुधरहिं सत संगति पाई । पारस परस कुधात सुहाई ।। अर्थात् सत्संग बिना विवेकको उदय नहुने, राम कृपा बिना सत्संगको अबसर नमिल्ने, सत्संगले नै मूर्खहरु पनि सुध्रन सक्ने जसरी सामान्य धातु फलाम पनि पारसमणिको संसर्गले असल सुन बन्न सक्छ । अजामिलले हरिको नाम लिँदा, अँगुलिमालले बुद्धको सामीप्य पाउँदा, शवरी, सुलभाहरुसंग धेरै धन नहुँदा, कुब्जा बा अन्य पात्रहरुसंग ठूलो क्षमता नहुँदा पनि ती तरे । विष लिएर आमा बनेकी पुतनाको उद्धार भयो श्रीकृष्णको स्पर्शले नै ।
महाभारतको वन पर्वले भनेको छः क्षणभरको सत्संगले नै सम्पूर्ण पापहरु जल्छन् जसरी कपासको ठूलो थुप्रोलाई जलाउन एक काँटी सलाई नै पर्याप्त छ । श्रीकृष्ण भन्नुहुन्छः योग, ध्यान, तमाम कर्महरुले भन्दा सत्संगले मलाई छिटो भेट्न सकिन्छ कलिमा त मेरो नाम नै भव सागर तर्ने गतिलो डुँगा हो । जीवनको कमाइ भनेको धन, पद, प्रतिष्ठा होइन मानिसले सत्संगबाट कति नजिक हुन खोजेको छ, भक्ति मार्गलाई कति सहज बनाउन खोजेको छ त्यसकै मापन बढी गरिन्छ । सत्संगले बाह्य चक्षु भन्दा पनि दिव्य चक्षु खुल्छन् जसबाट साकार संसार र निराकार ब्रह्मलाई अवलोकन गर्न सकिन्छ । मायाको चस्माले हेर्ने बाह्य आँखाले सत्य नदेख्न सक्छन्, मनको ढोका नखोली मोक्षको सम्भावना हुन्न, र त ईश्वर दर्शनले मात्रै पुग्दैन, मनन पनि गनृु पर्छ । मनोमथन गर्न अहँकार र वासनालाई त्याग्नु पर्ने हुन्छ, रत्तिभर वासना हुन्जेल सम्म मानिसले गति मुक्ति पाउँदैन र आफन्तकै वरिपरि अनेकानेक योनिमा भड्किरहनु पर्छ । मूर्ख र भक्तको अन्तर त्यही हुन्छ कि विद्धान्ले अतीतिलाई गालि गर्दैन, अतितका घटनालाई दुःख बल्झने गरी स्मरण गरिरहन्न, दुईको वार्तामा प्रवेश पनि गर्दैन र ठूलो काम गरेँ भनेर घमण्ड पनि गर्दैन तर मूर्खको यो स्वभाव कहिल्यै जाँदैन, निद्रा र कलहमा रुमल्लिरहन्छ, सत्संगको नजिक पुग्दैन, योगी सन्त, साधुहरुसंग क्षणभर पनि नजिकिन सक्दैन, अभिमानले ग्रस्त हुन्छ । धन, मान, पुर्खा, रुप, यौवन र पदको घमण्ड गर्छ ।
विपदो नैव विपदः सम्पदो नैव सम्पदः । विपद ्विस्मरणं विष्णोः सम्पद् नारायण स्मृतिः भनिएको छ । यसको अर्थ हुन्छ विपद् विपद् होइन, सम्पति सम्पद् होइन, विपद् त्यो हो जतिबेला नारायणको नाम लिइएन, नारायणको नामोच्चारण नै सम्पति हो, असलमा सम्पति लक्ष्मी त्यहीँ हुन्छिन् । वैभव भन्नु सरस्वती हो, सिप हो, ज्ञान हो, उपकार र दया हो, संसारप्रतिको दया हो र त शास्त्रमा भनियो वसुधैव कुटुम्वकम् । वसुधा भरिका सबै आफन्त हुन्, हर प्राणीमा ईश्वर देख्नु पर्ने गरी भगवानको वचन छ अहँ सर्वेषु भूतेषु अर्थात् म सबै प्राणीको अन्तरहिर्दयमा रहन्छु । श्रद्धा र विश्वास नै शिव र पार्वती हुन् त्यसैले शास्त्रले भनेको छः भवानी शँकरौ वन्दै श्रद्धा विश्वास रुपिणौँ । याभ्याँ बिना न पश्यन्ति सिद्धाशान्तस्थमीश्वरम् ।। अर्थात् सिद्धमहापुरुषहरुले पनि विश्वास र श्रद्धा बिना ईश्वर देख्न भेट्न सक्तैनन् ।