एमाले युवाले थाले पार्टी पुनर्गठनबारे व्यापक डिजिटल सुझाव संकलन

नेकपा (एमाले) का युवाहरूले पार्टी पुनर्गठनबारे व्यापक सुझाव संकलन गर्ने उद्देश्यले स्वतन्त्र डिजिटल मत सर्वेक्षण अभियान सुरु गरेका छन्। अभियानको नेतृत्व गरिरहेका गजेन्द्र थपलियाका अनुसार पार्टीको पुनर्गठनबारे नेताहरूको मात्रै नभई आम पार्टी सदस्य र नागरिकको पनि समान चासो रहने भएकाले सबैलाई आफ्नो धारणा राख्ने अवसर दिन यो अभियान अघि बढाइएको हो। उनले भने, “पार्टी जीवन नेताहरूको मात्र विषय होइन, सदस्य र शुभेच्छुकहरूको पनि सरोकारको विषय हो। त्यसैले यो मत सर्वेक्षणमा पार्टी सदस्यसँगै स्वतन्त्र नागरिकले पनि एमालेबारे आफ्नो विचार व्यक्त गर्न सक्नेछन्।”

यसअघि एमालेले गठन गरेको पुनर्गठन कार्यदलले केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा जनसंगठनका पदाधिकारीहरूबाट मात्र सुझाव संकलन गरेको थियो। युवाहरूले त्यसलाई पर्याप्त नभएको निष्कर्ष निकाल्दै थप व्यापक सहभागिताका लागि डिजिटल सर्वेक्षण सुरु गरेका हुन्। १८ प्रश्न समेटिएको उक्त प्रश्नावलीमा पार्टी पुनर्गठनका विविध पक्ष समावेश छन्। नेतृत्व तहमा कुन स्तरका नेतालाई अघि ल्याउने, संगठनात्मक संरचनामा आवश्यक सुधार, पार्टी सञ्चालनको शैली तथा समयअघि नै महाधिवेशन (अर्ली महाधिवेशन) गर्नुपर्ने वा नपर्ने विषयमा समेत सहभागीहरूको धारणा मागिएको छ।

अभियानका आयोजकहरूले प्राप्त सुझावले पार्टी पुनर्गठन प्रक्रियालाई थप समावेशी, पारदर्शी र सदस्य-केन्द्रित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।