नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवारको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा सोही अनुपातमा मूल्य समायोजन नभएको भन्दै सरकारको आलोचना गरे । सांसद देवकोटाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० अमेरिकी डलरबाट घटेर करिब ७० डलरमा झरिसक्दा पनि नेपालमा उपभोक्ताले महँगो शुल्क तिर्नु परिरहेको उल्लेख गरे । उनले भने,‘छिमेकी राष्ट्रहरूमा तेलको मूल्य घटिरहँदा नेपालमा भने सरकारले पुरानै मूल्य कायम राखेको छ। स्वचालित मूल्य प्रणाली लागू गरी जनतालाई राहत दिन र दैलेखको पेट्रोलियम उत्खनन कार्यलाई तीव्रता दिन म सरकारसँग माग गर्दछु ।’
२३ औँ राष्ट्रिय धान दिवसको सन्दर्भ जोड्दै सांसद देवकोटाले सरकारले धानमा आत्मनिर्भरताको नारा लगाए पनि बर्सेनि करिव डेढ अर्ब रुपैयाँ बराबरको धानको बीउ आयात हुनु विडम्बनापूर्ण रहेको बताए । आगामी वर्षदेखि बीउमा समेत आत्मनिर्भर बन्ने गरी ठोस योजना ल्याउन उहाँले सरकारलाई आग्रह गरे। नेपालमा बर्सेनि डुबेर मृत्यु हुनेको सङ्ख्या भयावह रहेको तथ्याङ्क प्रश्तुत गर्दै उहाँले पछिल्लो तीन वर्षमा २ हजार ५०५ जनाको ज्यान गएको जानकारी दिए । यसरी ज्यान गुमाउनेमा ८० प्रतिशत २५ वर्ष मुनिका बालबालिका र युवा रहेको उल्लेख गरे । साथै, सडक र निर्माणाधीन संरचनाका खाल्डाखुल्डी समयमै पुर्न पनि उनले माग गरे । उनले भने,‘स्थानीय तहहरूले जोखिमयुक्त क्षेत्रमा सङ्केत चिन्ह राख्ने, प्रहरी गस्ती बढाउने र माध्यमिक शिक्षामा पौडी खेल्ने सीपलाई अनिवार्य गरी प्रमाणपत्र दिने व्यवस्था गर्नुपर्छ ।’
वर्षातको समयमा सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउन खोजिएकोप्रति आपत्ति जनाउँदै सांसद देवकोटाले सरकारको यो कदम अमानवीय रहेको टिप्पणी गरे । सांसद देवकोटाले सरकार राजनीतिक दाउपेचमा मात्र केन्द्रित नभई जनताको जनजीविका र आधारभूत आवश्यकताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।



















