रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ बेनिनगरबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका ३५ थान आईफोनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवन कुमार मुराव रहेका छन् ।
उनले चलाइरहेको भारतीय नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद भएकाे प्रहरीले जनाएको छ।
बरामद गरिएका आईफोनको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ । साथै करिब ८० हजार रुपैयाँ मूल्य बराबरको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।
यससँगै बरामद सामानको कुल मूल्य २० लाख ५० हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ । घटनामा संलग्न चालक, बरामद आईफोन तथा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



















