कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सांसदहरूलाई संसद्को गरिमा र औचित्य कायम राख्न आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिन आग्रह गरेकी छन् । ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्।
उनले पछिल्लो समय संसद्को गुणस्तर खस्किएको जनगुनासोप्रति आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन प्रक्रियागत र प्राविधिक विषयहरूलाई सदनबाहिरका अनौपचारिक बैठकबाटै टुङ्ग्याउनुपर्ने बताइन्।
‘अनौपचारिक रूपमा गफ गर्ने बेला पनि सुनिन्छ, पहिलाको संसद्को तुलनामा अहिलेको संसदको गुणस्तर धेरै खस्किएको छ । आखिर किन खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गरौँ,’ उनले भनिन् ।



















