कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले राहत रकमभन्दा सम्मानजनक पुनःस्थापनाको माग गर्दै सरकारको पुनःव्यवस्थापन खर्चसम्बन्धी सूचना प्रति असहमति जनाएका छन्।
सरकारले बैकल्पिक व्यवस्थापन बिना उठिबास गरेको भन्दै प्रभावित परिवारहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै होल्डिङ सेन्टरमा रहेका मध्ये आधा परिवारले राहत सम्बन्धी निवेदन नभरेको जानकारी गराउदै नभरिने कुरा उल्लेख गर्दै राहतले होइन, वैकल्पिक आवाससहितको सम्मानजनक पुनःस्थापनाले मात्र समस्या समाधान हुने बताएका छन्। उनीहरूले वैकल्पिक व्यवस्थापनबिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट हटाउन नहुने, सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनःस्थापनाको योजना लागू गर्नुपर्ने र निवेदन नभरिएको आधारमा कुनै पनि प्रकारको विभेद वा दबाब दिन नहुने समेत माग गरेका छन्।
यसैबीच, कीर्तिपुर होल्डिङ सेन्टरको प्रतिनिधित्व गर्दै लामो समयदेखि सुकुम्बासी आन्दोलनमा सक्रिय सुकुम्बासी आन्दोलनका अगुवा तथा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका सल्लाहकार दल मर्दन कामी ले वैकल्पिक व्यवस्थापनबिना कुनै पनि होल्डिङ सेन्टरबाट फारम भरेका हुन या नभरेका बैकल्पिक व्यवस्थापन बिना पीडित परिवारलाई जबरजस्ती हटाउने प्रयास भए शान्तिपूर्ण आन्दोलन सुरु गरिने चेतावनी दिएका छन्।
कामीले भने, “सरकारले सम्मानजनक वैकल्पिक व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट पीडितलाई हटाउन खोजे चाहे २५ हजार लिने हुन या नलिने सबैको प्रतिनिधित्व गर्दै हामी शान्तिपूर्ण आन्दोलन सुरु गर्नेछौं। यदि त्यसबाट पनि समस्या समाधान भएन भने सबै पीडितहरू आआफ्नो पुरानै बसोबास क्षेत्रमा फर्किन बाध्य हुनेछन्। त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकारकै हुनेछ।
यसअघि अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसोवास गरिरहेका प्रभावित परिवारलाई पुनःव्यवस्थापन खर्च रकम प्राप्तिका लागि असार २२ गतेभित्र निवेदन दिन पुनःसूचना जारी गरेको थियो। तर प्रभावित परिवारहरूले राहत रकम आफ्नो समस्याको समाधान नभएको स्पष्ट पार्दै सम्मानजनक पुनःस्थापना सुनिश्चित नभएसम्म आफ्नो संघर्ष जारी रहने बताएका छन्।


















