ट्रम्पको हेलिकप्टर घटनाको छानबिन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार ‘मरिन वन’ सैन्य हेलिकप्टर वासिङ्टनमाथिको उडानका क्रममा एउटा व्यावसायिक यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको हुन सक्ने घटनाको अमेरिकी अधिकारीहरूले छानबिन सुरु गरेका छन् । यद्यपि ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प कुनै पनि बेला जोखिममा नरहेको स्पष्ट पारेको छ । न्युयोर्क टाइम्सले घटनाबारे जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै मङ्गलबार हवाई यातायात नियन्त्रणसँगको सञ्चारमा समस्या आएपछि ‘मरिन वन’ र यात्रुवाहक विमानबीचको दूरी एक माइलभन्दा कम भएको जनाएको थियो ।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड ९एनटिएसबी० ले अगस्ट ४ मा ‘मरिन वन’ र वासिङ्टन राष्ट्रिय विमानस्थलबाट उडेको व्यावसायिक विमानबीच आवश्यक दूरी कायम नरहेको हुन सक्ने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ‘मरिन वन’ विश्वकै उत्कृष्ट सैन्य चालकद्वारा सञ्चालन हुने हेलिकप्टर भएको उल्लेख गर्दै उडानका कुनै पनि चरणमा राष्ट्रपति ट्रम्पको सुरक्षामा खतरा नपरेको बताए।

अमेरिकी उड्डयन नियामक सङ्घीय उड्डयन प्रशासन (एफएए) ले पनि हवाई यातायात नियन्त्रक दुवै उडानका चालकसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । घटनाको विस्तृत समीक्षा जारी रहेको र आवश्यक देखिए सुधारात्मक कदम चालिने एफएएले जनाएको छ ।

वाल स्ट्रिट जर्नलका अनुसार यस्ता अवस्थामा कम्तीमा १।५ माइल तेर्सो दूरी र ५०० फिट ठाडो दूरी कायम हुनुपर्ने सुरक्षा मापदण्ड रहेको छ । सोही पत्रिकाले घटना स्थानीय समयअनुसार दिउँसो करिब २:३० बजे भएको र अमेरिकन एयरलाइन्सको सहायक कम्पनी एन्भोय एयरले सञ्चालन गरेको एम्ब्रेयर ई–१७० विमान त्यसबेला उडानमा रहेको जनाएको छ ।

घटनाका बेला ‘मरिन वन’ एन्ड्र्युज वायुसेना अड्डातर्फ गइरहेको थियो । त्यहाँबाट राष्ट्रपति ट्रम्प क्यालिफोर्निया जान राष्ट्रपतिको विशेष विमानमा चढ्ने कार्यक्रम थियो । अमेरिकन एयरलाइन्स र ‘मरिन वन’ सञ्चालन गर्ने अमेरिकी मरीन कोर्प्सले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

वासिङ्टन राष्ट्रिय विमानस्थल आसपासको हवाई सुरक्षा पछिल्लो समय विशेष निगरानीमा छ । सन् २०२५ को जनवरीमा सोही क्षेत्रमा यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । त्यस घटनापछि एफएएले विमानस्थल वरपरका हवाई सुरक्षा मापदण्ड थप कडा बनाएको थियो ।