‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दैछ । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले उक्त कार्यक्रम अघि बढाउन लागेको हो ।

कार्यक्रमअन्तर्गत सो पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने छ । रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले भुइँमान्छेका आवाजलाई सिधैँ राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्णरूपमा आमनागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नेछ ।

दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा सधन छलफल हुनेछ । नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका ९सांसद० र सङ्गठन (केन्द्रीय समिति) बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको सचेतक परियारले बताए।

मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक, पार्टीको साङ्गठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजना आदानप्रदान गर्ने लक्ष्य सो पार्टीले लिएको छ ।