नेपालमा उद्धार तथा राहतका लागि भारतको निरन्तर सहयोग

भदौ १० गते आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन भारतले नेपालमा मानवीय सहायता सामग्रीसहित भारतीय वायुसेनाको आठौँ उडान पठाएको छ। भारतको विदेश मन्त्रालयका अनुसार बाढीपछि आठवटा विशेष उडानमार्फत १३० टनभन्दा बढी राहत सामग्री र ५४ जना विशेषज्ञ नेपाल पठाइएको छ । भारतले अस्थायी आश्रय, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती र औषधिसहित उद्धार तथा फरेन्सिक कार्यमा प्रयोग हुने विशेष उपकरण पनि उपलब्ध गराएको जनाएको छ।

भारतबाट हिलोमा उद्धारका लागि प्रयोग हुने पोसाक, ग्यास डिटेक्टर, श्वासप्रश्वास उपकरण, फुलाउन मिल्ने बाटो, डीएनए परीक्षण किट तथा रिएजेन्ट पठाइएको छ। त्यस्तै, पोर्टेबल जेनेरेटर, प्रकाश टावर र पानी निकाल्ने पम्प पनि उपलब्ध गराइएको छ।

चिलिमेमा खोजी तथा उद्धार जारी
भारतीय विशेष सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा चिलिमे र लाङटाङमा खोजी तथा उद्धार कार्य थालेको थियो। अहिले खोजी कार्य चिलिमेमा केन्द्रित छ। कठिन भूगोल, सीमित पहुँच र सुरुङको भिरालो अवस्थाका कारण उद्धारमा चुनौती देखिएको भारतीय पक्षले जनाएको छ। टोलीले सुरुङभित्र हातैले खोजी कार्य जारी राखेको छ।

भारी उपकरण, विशेषगरी एक्स्काभेटर, सुरुङसम्म पुर्‍याउन अस्थायी बाटो निर्माण भइरहेको छ। भारतीय अधिकारीका अनुसार बाटो निर्माणमा उल्लेख्य प्रगति भएको छ र दुईदेखि तीन दिनभित्र पूरा हुने अपेक्षा गरिएको छ।

डीएनए परीक्षणमा पनि सहयोग
यसैबीच, भारतीय फरेन्सिक टोलीले नेपाली विज्ञसँग सहकार्य गर्दै काठमाडौंका दुई प्रयोगशालामा डीएनए नमुना परीक्षण तथा विश्लेषण गरिरहेको छ।

भारतले उपलब्ध गराएका फरेन्सिक उपकरण, डीएनए किट र रिएजेन्टले बाढीमा ज्यान गुमाएकाहरूको पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।