जेन–जी फ्रन्टले माग्याे उद्योगमन्त्री यादवकाे राजीनामा

नेपाल जेन–जी फ्रन्टले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवकाे राजीनामा माग गरेकाे छ । जेन–जी फ्रन्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री गौरीकुमारीलाई पदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।

मन्त्री यादवलाई पदबाट राजीनामा दिन आग्रह गर्दै फ्रन्टले पछिल्लो ४–५ महिनाको अनुभवबाट आफूहरूलाई लाचार र छुद्र नभई जिम्मेवार तथा जवाफदेही मन्त्री आवश्यक रहेको निष्कर्षमा पुगेको जनाएको छ । ‘अब तपाईं राजीनामा दिनुस् मन्त्री गौरी कुमारी ज्यू । यो ४-५ महिनामा हामीले मज्जाले बुझ्यौँ – हामीलाई लाचार र छुद्र मन्त्री चाहिँदैन; जिम्मेवार र जवाफदेही सेवक मन्त्री चाहिन्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

जेन–जी फ्रन्टले सरकारका मन्त्रीहरूले आफ्नै कमजोरी लुकाउन विभिन्न पक्षलाई दोषारोपण गरेको आरोप लगाएको छ । फ्रन्टले कर्मचारी, व्यवसायी, पत्रकार, राष्ट्रियसभा, विपक्षी दल र ३५ वर्षभन्दा माथिका पुस्तादेखि जनतासम्मलाई दोष लगाउने काम मन्त्रीहरूले गरेको दाबी गरेको छ ।

‘कर्मचारी, व्यावसायी, पत्रकार, राष्ट्रियसभा, विपक्षी, ३५ वर्ष, जनता सबैलाई दोष लगाएर सरकारका मन्त्रीहरूले भ्याइसके,’ विज्ञप्तिमा भनिएकाे छ, ‘अब पनि आफ्नै अक्षमतालाई लुकाउन अझै क-कसलाई दोष दिने हो सरकारका मन्त्रीहरूले ? सरकार गठन भएको महिनौँ बितिसक्दा पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको फ्रन्टको आरोप छ। १२–१३ वर्षका विद्यार्थी, वृद्धवृद्धा तथा विदेशी पर्यटकसमेत पानीमा भिज्दै घण्टौँसम्म ग्यासको लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उसले सरकारको आलोचना गरेको छ।