प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपा सांसदको माग

सत्तारुढ दल रास्वपाका सांसद जगदीश खरेल (ललिपुर) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपत् राहत कोष भनेर कायम गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रकोप कि मानव सिर्जित हुने कि प्राकृतिक हुने बताए । प्रकोप दैवी रहेको पुष्टि २०७४ सालमा बनेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र ७६ मा बनेको नियमावलीले स्पष्ट गरेको उनले बताए ।

‘२०३९ सालमा बनेको दैवी प्रकोप उद्धार ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेन, त्यसैले सम्माननीय प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई अनुरोध छ– यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर अब प्रधानमन्त्री विपत् राहत कोष भनेर कायम गरियोस् । अब दैवी प्रकोपको जमाना रहेन,’ उनले भने ।