बाढीले थिलथिलो पारेका बालमनमा भरोसा जगाउँदै सोनाम डोका

काठमाडौँ । बाढीले घर, विद्यालय, आफन्त र सुरक्षित भविष्यको भरोसा गुमाएका बालबालिकाका लागि राहत केवल खाना र कपडा उपलब्ध गराउनु मात्र होइन, डराएको मनलाई फेरि सुरक्षित महसुस गराउनु पनि हो। यही आवश्यकतालाई ध्यानमा राख्दै सामाजिक संस्था द स्मल वल्ड (टिएसडब्ल्यू) ले रसुवाका बाढी प्रभावित बालबालिकालाई लक्षित गरी मनोसामाजिक सहयोग तथा पोषण कार्यक्रम सञ्चालन गरेको छ।

द स्मल वल्डकी निर्देशक सोनाम डोका शेर्पाको पहलमा काठमाडौँको एलो गुम्बास्थित होल्डिङ सेन्टरमा रहेका करिब ६० जना बालबालिकालाई लक्षित गरी ट्रमा असेस्मेन्ट तथा मनोसामाजिक सहयोगका गतिविधि सञ्चालन भइरहेका छन्।

बाढीका क्रममा कतिपय बालबालिकाले बाढीको वेग, घर तथा संरचना बगाएको दृश्य र आफन्त तथा परिचित व्यक्तिसँग सम्बन्धित पीडादायी घटना प्रत्यक्ष देखेका छन्। यस्तो अनुभवले तत्काल शारीरिक क्षति नदेखिए पनि मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने भएकाले संस्थाले राहतसँगै बालबालिकाको मानसिक अवस्थालाई प्राथमिकतामा राखेको हो।

संस्थाले बालबालिकामा ‘सेन्स अफ सेफ्टी’ अर्थात् सुरक्षित भएको अनुभूति र ‘नर्मल फिलिङ’ अर्थात् सामान्य अवस्थामा फर्किएको महसुस गराउने गतिविधि सञ्चालन गरिरहेको जनाएको छ। उनीहरूलाई आफ्ना अनुभव तथा भावना व्यक्त गर्न सहज वातावरण बनाउने, प्रारम्भिक मानसिक अवस्थाको मूल्याङ्कन गर्ने र विपद्पछिको त्रास कम गर्न सहयोग गर्ने कार्यक्रम सञ्चालन भइरहेका छन्।

कार्यक्रमका लागि आधा दर्जनभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ भने ट्रमा असेस्मेन्टसम्बन्धी कामका लागि आधा दर्जनभन्दा बढी व्यक्तिलाई तालिम दिइएको संस्थाले जनाएको छ। विस्थापनका कारण नियमित खानपान प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै बालबालिकाका लागि स्वस्थ तथा पोषिलो खानाको समेत व्यवस्था गरिएको छ।

युनिसेफले पनि बाढी प्रभावित बालबालिकामा मानसिक आघात, रोग, कुपोषण, हिंसा तथा शोषणको जोखिम बढ्न सक्ने भन्दै मनोसामाजिक सहयोग आवश्यक रहेको जनाएको छ। यस पृष्ठभूमिमा टिएसडब्ल्यूले तत्कालीन राहतसँगै बालबालिकाको पुनःस्थापना र आत्मविश्वास पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको छ।

तीन सयभन्दा बढी परिवारलाई राहत
टिएसडब्ल्यूले रसुवा तथा नुवाकोटको त्रिशूली, बेत्रावतीलगायतका बाढी प्रभावित क्षेत्रमा तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा आवासका लागि आवश्यक सामग्री सहयोग गरेको जनाएको छ। बाढीपछि घर तथा दैनिक जीवनका अत्यावश्यक सामग्री गुमाएका परिवारलाई लक्षित गरी विदुर नगरपालिकासँगको समन्वयमा तीन सयभन्दा बढी परिवारलाई बासका लागि आवश्यक एक–एक सेट सामग्री उपलब्ध गराउने तयारीसमेत गरिएको संस्थाले जनाएको छ।

विपद्का बेला राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावित परिवारसम्म सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग समन्वय गरिएको संस्थाका संस्थापक अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो। प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी सोहीअनुसार राहत सामग्री वितरणलाई प्राथमिकता दिइएको संस्थाले जनाएको छ।

टिएसडब्ल्यूले राहतका लागि अमेरिकामा रहेका विभिन्न संस्था तथा व्यक्तिहरूबाट सहयोग संकलन गरेको हो। विदेशबाट प्राप्त सहयोग नेपालमा परिचालन गर्न समाज कल्याण परिषद्को स्वीकृति तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरिएको संस्थाले जनाएको छ। सन् २००६ मा स्थापना भएको द स्मल वल्डले शिक्षा, महिला सशक्तीकरण, स्वास्थ्य तथा समुदाय विकासका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। पछिल्लो विपद्मा संस्थाले भौतिक राहतसँगै बालबालिकाको मानसिक स्वास्थ्य र पोषणलाई जोड दिएको छ।

विपद्मा भौतिक संरचना पुनःनिर्माणसँगै प्रभावित बालबालिकाको मनोबल र सुरक्षाको भावना पुनःस्थापित गर्नु पनि चुनौतीपूर्ण हुन्छ। त्यसैले तत्कालीन राहतसँगै निरन्तर मनोसामाजिक सहयोग, पोषण र सुरक्षित वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।