नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको कार्यशैलीले लोकतन्त्रको भविष्यप्रति चिन्ता बढाएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बोल्दै पोखरेलले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको आरोप लगाए।
निर्वाचित प्रधानमन्त्रीले आफ्नै संसदीय दल र जनतासँग संवाद नगरेको भन्दै उनले सरकार लोकतन्त्रतर्फ अघि बढिरहेको हो कि अधिनायकवादतर्फ भन्ने प्रश्न उठाए। मुलुकको राजनीतिक र भूराजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको भन्दै पोखरेलले राष्ट्रिय सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए। सुशासन र विकासका लागि प्राप्त जनादेशअनुसार सरकारले काम गर्न नसकेको तथा सेवा प्रवाह कमजोर बनेको उनको आरोप थियो।


















