मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक गरिएको छ । बैठकले विश्व बैंकसँग अर्थक्वेक क्याटास्ट्रोफी फण्ड (भूकम्प विपद् व्यवस्थापन कोष) मा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै, विटौरी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यसैगरी जापानको आइची नागोयामा भएको २० औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै, नेपाल न्याय सेवा सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय सरकारले गरेको छ । न्यौपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ ।