जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफूले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागिसकेको स्पष्ट पारेका छन्। संसदीय सुनुवाइका क्रममा पीआरका कारण राजदूत बन्न अयोग्य रहेको भन्दै परेको उजुरी र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थापाले पीआर त्यागेको विवरण जापानको अध्यागमन निकायबाट नेपालको परराष्ट्र मन्त्रालयमा प्राप्त भइसकेको बताए।
सन् २००० मा जापान पुगेका थापाले त्यहाँ रहँदा नेपाली पहिचान र संस्कृति प्रवर्द्धनमा सक्रिय रहेको उल्लेख गरे। आफ्ना श्रीमती र सन्तानसमेत नेपाली नागरिककै हैसियतमा रहेको बताउँदै उनले देशको सेवा गर्ने उद्देश्यले राजदूत पदका लागि आवेदन दिएको स्पष्ट पारे।




















