हसिनाको स्वदेश फिर्ती अस्वीकार

बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो । तर, विदेश राज्यमन्त्री हुमायूँ कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै उहाँ सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताएको छ ।

कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारसँग कुरा गर्दै कबिरले बङ्गलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको उल्लेख गरे । उनले इच्छा र वास्तविकता फरक हुने भन्दै हसिना फर्किए हत्कडी लगाइने चेतावनी दिए । हसिनाले डिसेम्बर १६ मा फर्कने घोषणा गरेपछि सीमा सुरक्षा बल बङ्गलादेश ९बीजीबी० ले भारतसँगको सीमामा गस्ती बढाएको छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि भारत जानुभएकी हसिना त्यसयता त्यहीँ रहँदै आएको छ । उहाँको स्वदेश फर्कने घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव बढाएको छ भने सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसैबीच, सरकारले बदलिँदो राजनीतिक अवस्थाबारे विपक्षीसहित विभिन्न दलसँग छलफल गरेको छ । राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे बैठक भएको जनाइएको छ ।

सरकारले विदेशी कूटनीतिज्ञहरूलाई हसिनाको अवामी लिग पार्टीले आतङ्कवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै त्यसका सदस्यहरू फर्किए कानूनी कारबाही गरिने जानकारी दिएको छ । डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बङ्गलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा यो दिवस मनाइन्छ ।