रुपन्देही जिल्ला अदालतले पक्राउ परेका दीपेश पुनलाई अनुसन्धानका लागि आठ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा शुक्रबार काठमाडौंमा पक्राउ परेका पुनलाई प्रहरीले आज आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।
सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुनलाई पक्राउ गरेकै दिन शुक्रबार नै बुटवल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पुनलाई आठ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको छ । साथै, अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले अहिले नै पुनका बारेमा धेरै कुरा खुलाउन नमिल्ने बताएको छ ।
पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवा शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने अझै फरार छन् । पुन संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सो सहकारीबाट विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार छ सय ६५ रुपैयाँ ऋण प्रवाह भएको छ । रुपन्देहीलगायतका जिल्लाका बचतकर्ताहरूको एक अर्ब सात करोड ८२ लाख ६७ हजार सात सय २९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको बुझिएको छ ।


















