रुसी सेनामा रहेका र युक्रेनमा बन्दी भएका नेपालीको उद्धारलाई प्राथमिकता दिइने: परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले संसद्मा उठेका विषयमा स्पष्ट पार्दै मन्त्रालयले विदेशमा पुगेर लुकीछिपी काम गर्ने र बन्दी बनाइएका नेपालीलाई उद्धारका लागि सम्भावित सबै उपाय अवलम्बन गरिरहेको जानकारी गराएका हुन् ।

रुसी वा कुनै पनि मुलुकमा नेपालीलाई सेनामा भर्ती हुन वैधानिकरुपमा नपठाइएको बताउँदै त्यहाँ पुगेर सेनामा लुकीछिपी काम गर्ने र युक्रेनमा बन्दी हुन पुगेका नेपाली नागरिकको उद्धारका लागि समकक्षी मन्त्रीसँग संवाद गरेको समेत उनले बताएका छन् । उनले रूस सरकारले त्यहाँ मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया प्रारम्भ गरेको र सेनामा काम गरेकालाई करार रद्द गरी नेपाल फर्काउन सकारात्मक पहल भइरहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय हित तथा परराष्ट्र सम्बन्धका विषयमा गम्भीरता र संयमता अपनाउन आग्रह गर्दै कूटनीतिक आचारसंहितालाई प्रभावकारी रुपमा लागू गर्ने जानकारी दिए । उनले मुलुकको परराष्ट्र नीति र कूटनीतिक सम्बन्धका बारेमा राष्ट्रिय हित तथा सहमतिका आधारमा संयमतापूर्वक विचार व्यक्त गर्न सङ्घीय र प्रादेशिक सभाका शीर्ष नेता एवं सांसदलाई आग्रह गरे ।