राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) आज बिहीबारदेखि सुरु हुँदैछ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार चार सय १४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार आठ सय १३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको जनाइएको छ । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार सात सय ७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार छ सय २७ रहेको छ । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा चार सय ४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ ।
यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म ननग्रेडेड(एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको मात्रै सैद्धान्तिक परीक्षा हुने छ ।


















