राजस्व छलीका सवारीसाधनसहित तीन जना पक्राउ

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका घर भई काठमाडौँ कीर्तिपुर बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेँसी नगरपालिका घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीन गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका घर भई भक्तपुर बस्ने ३० वर्षीय रमेश गिरी रहेका छन् ।

उनका अनुसार गाडी र मोटरसाइकल भन्सार छली तथा चोरीपैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यसैगरी, भक्तपुरका विभिन्न स्थानमा गाडी र मोटरसाइकल भन्सार छली चोरीपैठारी गरी भारतबाट नेपाल ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गरेको पाइएकाले एक थान गाडी र दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।