वाम शक्ति एकीकरण सुरु भइसक्यो: पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताएका छन् । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा कम्युनिष्टहरू एकढिक्का हुन सुरु भएको सङ्केत गरेको बताउँदै खनालले २०८४ को आम निर्वाचनअघि नै नेपालका वाम शक्तिबीच एकता हुने बताएका हुन् ।

आज गृह जिल्ला इलाममा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा पत्रकारसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेको सरकार गठनबाट वाम एकताको यात्रा सुरु भइसकेको छ । आम निर्वाचनसम्म पुग्दा सबै कम्युनिष्ट एक भएर जान्छन् ।’ पूर्वप्रधानमन्त्री खनालले वाम एकताको कार्यदिशा आफैँले अगाडि बढाएको बताएका छन् । त्यही अनुरूप अहिले सरकार गठन भएको उनको भनाइ छ । ‘एकता भन्ने कुरा जहिले पनि सम्भव छ । अझ वाम एकता हुन त ढिला भइसक्यो । विचार र सिद्धान्त मिलेपछि कसैले रोक्न सक्दैन’, उनले भने, ‘तर अब टाउका मिल्ने होइन विचार मिल्नेबीच एकता हुनुपर्छ ।’ पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उनको भनाइ छ । ‘पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ’, नेता खनालले भने ।

नेता खनालले नयाँ सरकार गठनसँगै आम नागरिकमा उत्साह जगाएको बताउँदै यतिबेला मुलुक ठूलो सङ्कटमा रहेको बताए । उनले भने, ‘आर्थिक तरलता, राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र युवा पलायनका कारण देश सङ्कटमा परेको छ । आम नागरिक निराश भएका बेला बनेको नयाँ समीकरणका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्व सरकारले जनमुखी काम गर्नुपर्छ ।’

खनाल इलाम क्षेत्र नं.२ को उपनिर्वाचनमा आफ्ना दलका उम्मेदवार जीतबहादुर राईलाई सघाउन इलाम पुगेका हुन् । बैशाख १५ गते इलाम क्षेत्र नं.२ मा हुने उपचुनावमा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार रहेको छ । माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष राईलाई पार्टीले अघि सारेको छ । खनालले केन्द्रमा गठबन्धन भए पनि जिल्लाको उपनिर्वाचनमा एमालेसहित अन्य दलसँग आफ्नो पार्टीले स्वस्थ प्रतिस्पर्धा गर्ने जानकारी दिए । उनले ठूलो वाम शक्तिले आफूलाई साझा उम्मेदवारका रूपमा अघि सार्न खोजे पनि सत्ता साझेदार ठूलो दल एमालेले एक्लै चुनाव लड्ने भनेपछि आफूले विश्राम लिएको बताए ।

नेता खनाल २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं.१ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग पराजित भएपछि पहिलोपटक जिल्ला पुगेका हुन् । उनले इलाम–२ का विभिन्न चुनावी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एसका जिल्ला उपाध्यक्ष चित्रकला बराइलीले जानकारी दिए ।