लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका हुन् ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री महरा लुम्बनीको पाँचौँ मुख्यमन्त्री बनेका छन् । यसअघि मुख्यमन्त्री पदबाट डिल्लीबहादुर चौधरीले चैत २२ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि नेकपा(एमाले)सहित पाँच दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४८ जनाको समर्थनमा महराले यही चैत २३ गते प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गरेका थिए ।
यस्तै, मुख्यमन्त्री महराले आजै सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।
मुख्यमन्त्री महरा:
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त जोखबहादुर महरा प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उनी २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गरेका हुन् । उनले २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गरेका मुख्यमन्त्रीमा नियुक्त भएपछि आज शपथग्रहण गरेका महरा २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं. १(१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं.२, हाल सुनिलस्मृति गाउँपालिका-५ गजुल काट्नेमा बुवा खलबहादुर महरा र आमा रमिता महराको कोखबाट २०२० कात्तिक १ गते जन्मिएका महराले स्थानीय श्री जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गरेका हुन् ।
यस्तै, उनले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशात्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री महराका श्रीमती तपी महरा र चार छोरा छन् । २०४२ मा विद्यार्थी सङ्गठनको दाङको सचिव हुँदै २०५१ मा नेकपा (माओवादी)को रोल्पा जिल्ला सचिवका रुपमा पार्टीको जिम्मेवारी पाएका थिए । यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरेका महरा २०६४ मा नेकपा (माओवादी)को तर्फबाट संविधानसभा सदस्य भएका थिए । २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहल(प्रचण्ड)को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गरेका महरा २०७४ सालमा प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेरसमेत काम गरेका थिए । नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य रहेका महरा गतवर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।


















