यसवर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कारबाट सीमाविद् बुद्धिनारायण श्रेष्ठले सम्मानित भएका छन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.केशरजङ बरालले सीमाविद् श्रेष्ठलाई पुरस्कार प्रदान गरेका थिए । देशको सीमासम्बन्धी खोज अनुसन्धान तथा जागरणमा विषेश योगदान पुर्याएबापत सीमाविद् श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो ।
सो अवसरमा सीमाविद् श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राखेका थिए । लामो समय अन्तर्राष्ट्रिय सीमासम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न श्रेष्ठले छिमेकी मुलुकसँगको सीमा विवाद यथासक्य छिटो समाधान गर्नुपर्ने बताएका छन् ।
सो अवसरमा उपकुलपति बरालले देशको सीमा र त्यसका विविध पक्षबारे सबैभन्दा जानकार सीमाविद् श्रेष्ठ नै भएको बताए । कुनै पनि नागरिकलाई आफ्नो देश चिन्न सीमाविद् श्रेष्ठकै अनुसन्धानले मद्दत गर्ने भएकोले दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार योग्य व्यक्तित्वले पाएको उनको भनाइ थियो ।
इतिहास, संस्कृति र ज्योतिष क्षेत्रका सर्जक स्व.दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६३ सालमा स्थापित यो पुरस्कार हालसम्म ज्ञानमणि नेपाल, प्राध्यापक दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा.डा.सुरेश राज शर्मा, मदमणि दीक्षित, मोदनाथ प्रश्रित, जगमान गुरुङलगायतका प्रतिभालाई प्रदान गरिसकिएको छ ।


















