बालुवाटारमा आज आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी(नाउपा)लाई दिने सहमति गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलबाट उक्त सहमति भएको हो ।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने बताएका थिए । त्यसपछि आलोपालो अनुसार दुई वर्षपछि एकीकृत समाजवादीलाई नाउपाले मुख्यमन्त्री छाड्न सहमति भएको छ । नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले सुदूरपश्चिम मुख्यमन्त्री नाउपाले पाउने अनौपचारिक सहमति भएको बताए । आइतबार बिहान बसेको बैठकमा औपचारिक सहमति भएको छ । उनका अनुसार आजै अपराह्न ३ बजे मुख्यमन्त्रीमा दाबी पेश हुने छ ।
नाउपाले मुख्यमन्त्री पाउने भए पनि कसले नेतृत्व गर्ने भनेर पार्टीभित्र विवाद छ । नाउपा सुदूरपश्चिमका सांसदहरू पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीमा बाँडिएका छन् । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई दलको नेता तोक्दै उनैलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन् । संरक्षक चौधरी पक्षले भने लक्ष्मणकिशोर चौधरीलाई अघि सारेका छन् । चौधरीले बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ ।
सत्ता गठबन्धन घटक दलमध्ये माओवादी केन्द्रसँग सभामुखसहित ११, नेकपा(एमाले)सँग उपसभामुखसहित १०, नाउपासँग सात, एकीकृत समाजवादीसँग चार सांसद छन् ।

















