पंक्ति तयार गरिरहँदा काठमाडौंमा सेतो मत्स्येन्द्रनाथको रथयात्रा भइरहेको छ । चैत्र अष्टमीदेखि शुरु भएको यो क्रम चैत्र शुक्ल पूर्णिमा भनौँ ०८१ वैशाख ११ गतेसम्म रहन्छ । पाटनका रातो मत्स्येन्द्रनाथ र भोटो जात्राका बारे हामीले धेरै देखे सुनेका छौँ । ललितपुर र काठमाडौँ गरी २ मत्स्येन्द्रनाथ छन् । काठमाडौँ मच्छेन्द्रबहालमा भने सेतो मत्स्येन्द्रनाथ रहेका छन् । वर्षमा २ पल्ट गरिने यिनको जात्रा पौष शुक्ल अष्टमी र चैत्र शुक्ल अष्टमीदेखि आरम्भ हुन्छ ।
हिन्दु अनुयायीहरुले यी देवतालाई भगवान भोलेबाबा दीक्षित भन्ने गर्छन् भने बौद्धमार्गीहरुले यिनलाई आर्यावलोकितेश्वर, करुणामय करुणासागर भनौँ सम्पूर्ण जीवात्माका रक्षकका रुपमा लिन्छन् । काठमाडौँको मुटु असन इन्द्रचोकको बीच रहेको कलात्मक मन्दिरमा करिव ३ हात उचाइको भगवानको मूर्ति रहेको छ । मन्दिर पित्तल धातुले बनेको २ तले छ र धेरै फराकिलो छ, अन्य मन्दिरहरु भन्दा विशेष रुपको छ यो । मन्दिरको पूर्वतिर कलात्मक डबली छ ।
चैत्र शुक्ल अष्टमीका दिन त्यहाँका पुजारीले भगवानको पुराना कपडा फुकालिदिन्छन्, भगवानलाई महास्नान गराउँछन् । बाजागाजाका साथ धूमधाम रुपमा नयाँ पहिरन, गर गहना लगाइदिन्छन् । मूर्तिलाई बाहिर डबलीमा राखी विशेष आराधना गर्छन्, श्रृँगार सहितका मत्स्येन्द्रनाथको दर्शन गर्ने भक्तहरुको ठूलो भीड हुन्छ । पूर्ण कदका भगवान मत्स्येन्द्रनाथसंगै रहेका हरिततारा र श्वेतताराको पनि पूजा, दर्शन गर्ने चलन रहेको छ । एक सातासम्म भगवानलाई बजार परिक्रमा गराउने क्रममा जमलमा रथ तयार गरिएको हुन्छ भने खटमा राखी भक्तहरु सहित देवतालाई जमल पुर्याइन्छ।
जमलमा रथारोहण गराई असन, इन्द्रचोक, लगन, मच्छेन्द्रबहाल, हनुमानढोका क्षेत्रमा परिक्रमा गराइन्छ । काठमाडौँका नेवारहरुले भगवानलाई साँझपख योमरी अर्पण गर्छन् भने आफन्त इष्टमित्रहरुलाई निम्तो दिएर भोज गर्ने चलन छ । भगवानलाई भोजन प्रसाद जति धेरै अर्पण गरियो त्यति धेरै आशीर्वाद पाइने मान्यता रहेको देखिन्छ । भक्तहरुले ध्वजापता श्रृँगार अर्पण गर्दछन् ।
सेतो मत्स्येन्द्रनाथलाई जमलेश्वरका रुपमा पनि चिनिन्छ । करिब २ हजार वर्ष पहिले जमलमा रहेको एक पोखरीमा सेतो मूर्ति फेला परेको र सो मूर्तिबारे तत्कालीन राजासमक्ष जाहेर भएपछि राजाले विशेष पूजा चलाउने आदेश दिएर यसको पूजाजात्रा परम्परा शुरु भएको हो । राजालाई सपनामा सेतो मत्स्येन्द्रनाथको नामकरण गर्न भनिएअनुसार नामकरण भएको जनश्रुति रहेको छ । अग्लो रथारोहण गराउँदै भगवानलाई पहिलो दिन असन, दोस्रो दिन हनुमानढोका, तेस्रो दिन लगनटोल र चौथो दिन जनबहाल पु–याइन्छ । पछि पुजारीहरुले बोकेर मच्छेन्द्रबहाल लग्छन्, करिव १ सातामा यो जात्रा सकिन्छ ।
संसारमै एक मात्र हिन्दु बाहुल्य क्षेत्र नेपाल बौद्धमार्गीहरुका लागि पनि केन्द्रविन्दु नै हो । पशुपतिनाथको पूजाअर्चना गर्दा बुद्धको विशेष मुकुट पहि–याउने चलन छ । काठमाडौँ उपत्यकामा प्रसिद्ध स्वयम्भू स्तुपा र बौद्धनाथको स्तुपा रहेको छ । अशोकको नामसंग सम्बद्ध चारुमती चाबहिल क्षेत्रमा पनि विशेष बौद्ध स्तुपा रहेको छ । बौद्ध साँस्कृतिक धेरै पर्वहरु छन् र बौद्धमार्गीहरुले दानलाई ज्यादै महत्व दिने गर्छन् । बुद्धिष्टहरुका लागि पन्चदानको ठूलो महत्व छ । सबैभन्दा ठूलो दान भनेको सम्यक् महादान हो । काठमाडौँमा यस्तो महादानको पर्व हरेक १२ वर्षमा हुने गर्छ भने पाटनमा हरेक ५ वर्षमा र भक्तपुरमा हरेक वर्ष गर्ने गरिन्छ ।
पाटनमा मनाइने यस्तो दान पर्व फाल्गुन शुक्ल चतुर्थीमा गरिन्छ, सबैतिर एकै तिथि मितिमा हुँदैन । सम्यक् दान दाताको इच्छामा निर्भर हुने हुँदा यही नै स्थान भन्ने हुन्न, ठूलो खर्च लाग्ने हुँदा हिजोआज यो दानको क्रम घटदै आएको छ, दाताको कमीले पनि । कसैले दान नगरेमा काठमाडौँको वटु, इटुम्बहालका स्थानीयले खर्च जुटाई आलोपालो गर्ने गर्थे पहिले । यो परम्परा सधैँ धान्न नसकिँदा १२ वर्षमा एकपल्ट गर्ने चलन चलेको हो । सम्यक् परम्परा भने बुद्धका बालसखा ५ वर्षले कनिष्ठ बिम्बिसारले शुरु गरेको भनिन्छ ।
बौद्ध परम्परामा भिक्षुहरुलाई आमन्त्रण गर्नु, भोजन गराउनुलाई सम्यक दान भनिन्छ । यो ईशापूर्व छैठौँ शताब्दीमा आरम्भ भएको अनुमान छ । सम्यक् दानको परम्परा छिमेकी भारतबाट शुरु भएपनि त्यहाँ यसले निरन्तरता पाउन सकेन र उत्तर चीन, तिब्बततिर प्रवेश पाई दीपँकर बुद्धसहित तेहृौँ शताब्दीदेखि नेपालमा प्रवेश पाएको बुझिन्छ । सम्यक् महादानका लागि प्रसिद्ध स्थान भनेको स्वयम्भू स्तुपाको तलतिर भूइँखेल भन्ने स्थान हो । यसका अतिरिक्त काठमाडौँको इटुम्बहाल, ओटु, ललितपुरको लगनखेल र भक्तपुर पनि हो । सम्यक् महादानमा आदि बुद्ध, भगवान बुद्ध, दीपँकर, बोधिसत्व, आर्यतारा, श्रामणेर, बज्राचार्य, भिक्षुआदि र सय भन्दा बढी देव देवीहरुलाई निम्त्याइएर तिनलाई दान, दक्षिणा, भोजन गराइन्छ ।
सम्यक् महादानमा देवताहरुका पूर्ण कदका ५ फिट अग्लामूर्तिहरु लहरै सजाएर राखिन्छ, हेर्दा त्यो विशालखुल्ला संग्रहालय जस्तै देखिने गर्छ । दानवीरहरु थुप्रै हुन्छन्, दान खुलेरै गरिन्छ । साँझ भएपछि देवताप्रति क्षमायाचना गर्दै आशीर्वाद लिने दिने गरिन्छ । देवताहरुलाई विधिपूर्वक विदा गराइन्छ, समारोहको विसर्जन पनि । आवाहनं नजानामि नजानामि विसर्जनम् पूजां चैव नजानामि क्षमस्व परमेश्वर, यान्तुदेव गणा सर्वे पूजामादाय पार्थिव इष्टकाम प्रसिध्यर्थं पुनरागमनाय च भन्ने मन्त्रहरु वाचन गर्दै पूजा विर्सजन गरिएझैं आमन्त्रित देवताहरुलाई हाम्रो मनोकामना पूरा गर्न फेरि आउनु होला भन्दै विसर्जन गरिन्छ । देव देवीहरुलाई शुरुमा आमन्त्रण गरेर प्राणप्रतिष्ठा गर्नु पर्छ यदि नयाँ चित्र बा मूर्तिहरु हुन् भने ।
धर्म, संस्कृति, संस्कार हरेक व्यक्तिका निजी विषय हुन् तर राष्टिृय रुपको धर्म, संस्कृति, संस्कार, सभ्यता भन्नु देशको प्राण हो, राष्टिृयता हो । कुनै भूगोल मात्रैले राष्टिृयता पूरा हुन्न । देशको राष्टिृयताको आधार भनेको भाषा, धर्म, संस्कृति, संस्कार र भूगोल हो । हामीले माया गर्न सक्नुपर्छ र यसो हुँदा स्व पहिचान, स्व अस्तित्वकायम रहन सक्छ । प्रकृतिरुपी शक्तिमा यो सारा ब्रह्माण्ड चलेको छ । सम्पूर्ण चराचर जगत्को सिर्जना, पालना र संहार यसै प्रकृतिमा हुने गर्छ । चार प्रकारको मुख्य सिर्जना–अण्डज, स्वेदज, उद्भिज र जरायुजहुन् ।
जरायुजप्रकृतिको सृष्टिमा मान्छे पनि पर्छ । संसारमा २ प्रकारका वस्तुहरु छन्– प्राकृतवस्तु र संस्कृत वस्तु । जे जस्तो छ त्यो प्राकृत र त्यो त्यस्तोमा परिस्कृत चाहिँ संस्कृत हो । सम्पूर्ण विश्वको रचनागर्ने पौरुषेयको क्षेत्र प्रकृति नै हो अर्थात् माया । पुरुषकीकार्यरुपा योगमायाको शक्तिले परमसत्ता सञ्चालक बनेका परमेश्वरका सृष्टिमा असम्भव वस्तु केही छैन । दृश्यदेखि अदृश्य पदार्थको सञ्चालन गरेर भौतिक विज्ञान अगाडि बढेको छ । भौतिक विज्ञानले प्रयोग गर्ने र आविष्कार गर्ने स्थल प्राकृत विज्ञान नै हो । पानी विना बिजुली सम्भव छैन ।
प्रकृतिले यथास्थितिमा प्रदत्त विषय प्राकृत हो भने प्रकृतिको ईश्वरीय कृतिमा निर्मित मानवले प्रकृति प्रदत्त विषयवस्तुलाई आफू अनुकूल प्रयोग, हित हुने गरी संस्कृत गर्यो, संस्कार गर्यो, काँटछाँट गर्यो, परिष्कार गर्यो, परिमार्जन गर्यो, संशोधन गर्यो । उदाहरणका लागि भनौं काठलाई संस्कार गर्यो, आफ्नो अनुकूल फर्निचर आदि, माटो ढुङ्गालाई संस्कृत, संस्कार गर्यो घर, भवन आदि, अन्नफलफूललाई संस्कार गर्यो–भण्डारणदेखि जीवनयापनसम्म आदि, कुटानी पिसानी, गोडमेलदेखि तोड्नेफोड्ने यावत्कृयाकलापबाट वस्तुहरुलाई परिष्कृत गरियो, परिमार्जित गरियो, संस्कृत गरियो, त्यति मात्र होइन प्रकृतिप्रदत्त झर्ना, ताल, कुवा, नदी आदिलाई पर्यावरण, वातावरणदेखि जलविद्युत गृह र जीवन उपयोगी दृश्यसम्ममा प्रयोग भयो ।
मानवमा भएको दिव्य वैज्ञानिक चेतनशक्ति प्रयोग गरेर मानव आफैं सुविधा सम्पन्न, सुसंस्कृत समेत भयो । संस्कृत साहित्यमा ‘संस्कार’ शब्द यत्र तत्र प्रयोग भएको देखिन्छ । मीमांशकहरुले संस्कारलाई विधिवत् शुद्धि गर्नु भन्ने अर्थमा लिन्छन् । अद्वेतवादीहरु जीवमा हुने शारीरिक क्रिया वा शुद्धिलाई संस्कार भन्छन् । तर्कसंग्रहमा संस्कार भन्नाले स्मरणशक्तिमा पर्नेप्रभाव बुझिन्छ । वैशेषिक दर्शनले मानिसका २४ गुणलाई संस्कारका रुपमा बताएको नीतिज्ञहरु भन्छन्–शुद्धक्रिया र शुद्धविचार एवं शुद्धभावना नै संस्कार हो ।
मनुस्मृतिले संस्कार भनेको–गर्भाधानदेखि सम्पूर्ण वैदिकर्मलाई संस्कार भनेको छ । कर्मकाण्डले मन्त्रोच्चारण गरी गरिने शुभकार्यलाई संस्कार भनेको छ । व्यासगुरुले संस्कार भनेको शारीरिक शुद्धि क्रिया भन्नुभएको छ । धर्मलाई पनि अनेक मार्गीहरुले विभिन्न नाम दिएका छन् । शैवहरुले शिव भनेका छन् । वेदान्तीहरुले ब्रह्म भनेका छन्, बुद्धिष्टहरुले बुद्ध भने, नैयायिकहरुले कर्ता भनेका छन् । जैनमार्गीहरुले धर्मलाई अर्हन्तभनेका छन् भने मीमाँशकहरुले कर्म भनेका छन्, जसले जे भने ठीकै भने तर तीन लोकका सन्चालक भगवान भने एकै हुन्, नाम मात्र पृथक हो ।

















