महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस(एनसीएचएल)बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र एनसिएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
विकास बैंकहरूमध्ये यस बैंक एनसिएचएलसँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक भएको बैंकको दाबी छ । भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैंकले उक्त सुविधा प्रदान गर्न सक्षम भएको बताइएको छ ।
सम्झौतापछि अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै महालक्ष्मी विकास बैंकमा खोलिएको कुनैपनि यूपिआई ह्यान्डल लिंक गरिएको खातामार्फत् भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुनेछ ।
यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपिआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रही नेपालमा महालक्ष्मी विकास बैंकको यूपिआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ ।
यो अन्तर्देशीय भुक्तानी सुरू भएपछि विशेष गरी विद्यार्थी, तीर्थयात्री, पर्यटक तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकहरूलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ । हाल बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् ।

















