भारतमा दाजुबहिनीको शङ्कास्पद मृत्यु

बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिनुभयो ।

दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्, धामीले भन्नुभयो, “दुवैको शरीर चोटपटक देखिन्छ । बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उहाँको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ । सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो, धामीले भन्नुभयोे, तर अझै शव अस्पतालमै छ । मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।