सहकारी रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठनका लागि ४ बुँदे सहमति

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका लागि सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच चार बुँदे सहमति भएको छ । कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार आज मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लगाएको हो ।

कार्यदलले कार्यादेश टुंगो लगाएर मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाएको छ । कानुनमन्त्री गिरीका अनुसार मंगलबार बस्ने प्रतिनिधिसभा बैठकअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय छानबिन समितिमा रहने सांसदहरुको नाम टुंगो लगाउने छ ।

कानुन मन्त्री गिरी नेतृत्वमा रहेको कार्यदलमा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, रास्वपा सांसद शिशिर खनाल थिए । मंगलबारको छलफलमा नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे पनि सहभागी थिए ।

कार्यदलमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीका विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने विषयमा सहमति भएको छ ।