मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेको हो ।

सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यादवप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुन: विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।