भारतीय राष्ट्रपतिद्वारा प्रधानमन्त्री मोदीको सपथ समारोहमा सहभागीहरुको सम्मानमा रात्रिभोज

भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा आइतबार रात्रिभोजको आयोजना गरेका छन् । राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गरिएको परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले जानकारी दिए ।

रात्रिभोजमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित थिए । रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी पनि भएको जनाइएको छ । रात्रिभोजमा आइतबारै पद तथा गोपनीयताको सपथ लिएका भारतका संघीय मन्त्री एवं राज्यमन्त्रीहरु, भारतका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रधानमन्त्री दाहालको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले सोमबार विहान चियापानको आयोजना गर्ने कार्यक्रम छ । साथै विहान ११ बजे प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्ने जनाइएको छ ।

प्रधानमन्त्री दाहाल उक्त सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् ।

प्रधानमन्त्री दाहालले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल आज सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।