नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागिपरेको बताएका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो ।
सो अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताएका थिए । उनले भने, ‘विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे । यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।’ विपीनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए । जोशीले भने, ‘राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भन्नुभयो । उहाँले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउनुभएको रहेछ ।’
जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि विपीनको अवस्थाबारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको बताए । राजदूत गोडरसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तसहित विश्वविद्यालयका अन्य पदाधीकारीहरु सहभागी थिए ।


















