अत्यन्तै क्रुर तरिकाले पशुपन्छीको ढुवानी भइरहेको छ : सुलक्षणा राणा(एनिमल नेपाल)

पशु कल्याण ऐन सिघ्र जारी गर्न माग

पशुपन्छीमाथिको ज्यादति रोकि सो सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्न एनिमल नेपालकी प्रमुख सुलक्षणा राणाले सरकारसँग माग गरेकी छन् । पशुपन्छी कल्याणको पैरवी गर्दै आएको एनिमल नेपालले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो माग गरेकी हुन ।

प्रमुख राणाले पशुपन्छी तथा जनावरलाई स्वतन्त्रपूर्वक बाँच्न दिन अन्तर्राष्ट्रियस्तरमा पाँच मापदण्ड अभ्यासमा रहेकाले त्यसलाई नेपालमा पनि अंगीकार गर्न सरकारसँग माग गरिन् । राणाका अनुसार पशुपन्छीको स्वतन्त्रताको पाँच मापदण्डमा भोक, प्यास र कुपोषणबाट मुक्त गर्नु, डर, त्रासमुक्त हुनु, विषाक्त किसिमको केमिकल उत्पन्न हुन नदिनु, आवश्यक तापक्रम, हावापानी उपलब्ध गराउनु र घाउ, चोट नदिनुलगायत पर्छन् ।

मानव स्वास्थ्यलाई मध्यनजर गरेर सरकारले कतिपय एन्टिबायोटिकलाई प्रतिबन्ध लगाए पनि एन्टिबायोटिक भित्रिरहेको र त्यो कुखुरालगायत पन्छीमा प्रयोग हुँदा मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको उनले बताइन् । उनले भनिन्, ‘अण्डा र मासुलाई प्रोटिनका रूपमा प्रयोग गरिरहेका छौं तर एन्टिबायोटिक प्रयोगले मानिसलाई राम्रो गरिहेको छैन ।’

अत्यन्तै क्रुर तरिकाले पशुपन्छीको ढुवानी भइरहेकोप्रति पनि उनले चिन्ता जाहेर गरिन् । राणाका अनुसार नेपालगञ्ज, कैलाली, महेन्द्रनगरलगायत २४ घण्टा लामो दूरीबाट निर्मम तरिकाबाट पशुपन्छीको ढुवानी भइरहेको छ । उनले कुखुराहरूले स्वतन्त्र रूपमा घुमेर खेल्न र चर्न पाउनु पर्ने बताउँदै खोरमा थुनेर यातना दिन नपाईने समेत बताईन ।

पशु वधशालामा पशुको अगाडि अर्को पशु वध गरिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरिन् । यस्तो क्रियाकलापले डर त्रास उत्पन्न भई पशुमा मानसिक असर पर्ने उनको भनाइ छ । ‘मासु पसलहरूमा एउटा पशुले टुलुटुलु हेरेर बस्ने र अर्को पशुलाई काट्ने प्रवृत्ति छ । यसले हेर्ने जनावरमा नकरात्मक हर्मान उत्पादन हुन्छ ।’

त्यसैगरी, पशु कल्याण ऐन बन्नाका लागि सैद्धान्तिक सहमति जुटेको दुई वर्ष बितिसक्दा पनि ऐनको मस्यौदाले अन्तिम रुप पाउन नसकेको उनले बताईन । ऐन नआउँदा हालसम्म पशु कल्याण निर्देशिका २०७३ मार्फत नै काम भइरहेको छ । विधेयककै रुपमा तर्जुमा गरिएको यो निर्देशिका तत्कालिन अवस्थामा ऐनको रुपमा पारित हुन समय लाग्ने भएपछि निर्देशिकाको रुपमा कार्यान्वयनमा ल्याइयो । तर त्यतिबेलादेखि नै प्रक्रियामा रहेको ऐन अहिलेसम्म आउन सकेको छैन ।

ऐन नआउँदा सोही निर्देशिकाकै भर पर्नुपर्ने अवस्था छ । निर्देशिकामा कानुनमा जस्तो दण्डात्मक व्यवस्था नहुने भएकाले यसका अधकांश प्रावधानहरु कार्यान्वयनमा समेत छैनन् । जसकारण चाँडो भन्दा चाँडो ऐन आउनुपर्ने भनेर पशु अधिकारकर्मीहरुले माग गर्दै आएका छन् ।

नेपाल पशुपक्षी जन्य व्यवसायीले पशु ढुवानीका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन पनि उनले माग गरिन ।
पशु ढुवानी गर्दा आठ घण्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भएपनि होल्डिङ सेन्टर नहुँदा गन्तव्यमा पुर्याउन कठिन भएको उनको भनाई छ । उनका अनुसार नेपालमा पाँच स्थानमा पशुक्वारेन्ट टाइन भएपनि होल्डिङ सेन्टर छैन ।

पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्छ । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवाला पक्षको चासो नदेखाएको बताउँदै एनिमल नेपालकी प्रमुख सुलक्षणा रााणाले राँगा भैँसी ढुवानीमा न्यूनतम मापदण्ड पालना गर्नुपर्नेमा जोड दिईन । ढुवानी गर्दा गाडीमा नाक र पुच्छरमा बाँधेर यातना दिँदै यात्रा गराउने गरेको बताउँदै हरेक गाडीमा प्राथमिक उपचार बाकस हुनुपर्नेमा जोड दिदैँ उनले  यसको विपरित प्राय भैँसी तथा राँगा रगताम्य बनाउँदै लगेको भेटिने बताइन् ।

नेपालगञ्ज, बर्दघाट, लुम्बिनी, जितपुर, बारा, धनुषालगायतका क्षेत्रमा चितवन हुँदै रागाँभैसी राजधानी भित्रने बताउँदै रामनगर र गैँडाकोट क्षेत्रमा पशुलाई ओरालेर दाना पानी खुवाउनका लागि होल्डिङ सेन्टरको व्यवस्था गर्न उनले माग गरिन । कार्यक्रममा संस्थाको तर्फबाट लक्ष्मी खत्रीले एनिमल नेपालले गरेका पशु कल्याणको कामहरुको बारेमा जानकारी दिएकी थिइन ।