तुलसीले जीवन रक्षा गर्छ, तु भनेको राम, ल भनेको लक्ष्मण र सी भनेको सीता हो अर्थात् ज्ञान, वैराग्य र भक्तिको त्रिवेणी हो तुलसी । जेष्ठ शुक्ल एकादशी, निर्जला एकादशी असार ४ गते परेको छ । तुलसी रोपणले पनि चिनिएको दिन निर्जला एकादशी दुई दिन परेकोमा वैष्णवानां एकादशी ४ गते हो, असार ४ गते मंगलबार । सृष्टिको उषाकालमा ब्रह्माजीको अंश, वंशमा तालजङ्ग असुरको उदय भयो । उसको पुत्र मुर दानवको उदयले संसारलाई भयभीत बनायो । देवताहरु राज्यच्यूत भए । शिव आज्ञाले श्रीविष्णुले मुर दानवलाई बध गर्ने आदेश दिँदा श्रीविष्णु नै युद्ध क्षेत्रमा पराजित भई वदरीकाश्रमको सिँहावती गुफामा सुत्नु पर्ने भयो ।
शयन गरिएका विष्णुका शरीरबाट सम्पूर्ण तेजसहितको एक कन्याको उदय भयो । ती कन्यासंग सम्पूर्ण शस्त्र अस्त्रदेखि युद्धकलाको सम्पूर्ण ज्ञान थियो । ती कन्या त्यही मुर दानवसंग युद्ध गर्न लागिन् । नृशंस, संहारकारी मुर दानव पराजित भयो तिनै कन्याबाट ! श्री विष्णु पनि आफू जागा भएर ती कन्यालाई वरदान माग भन्दा उनले आफ्नो नाम एकादशी रहनु पर्ने र तीर्थमा श्रेष्ठ, विध्ननाशक, सिद्धिदाता, धन, धर्म, मोक्षको कारक भई मानवलाई चाहे अनुसारको सिद्धि दिन सकूँ भन्ने वरदान मागेकीले हुन्छ भन्ने श्रीविष्णुको आदेश अनुसार सत्ययुगदेखि नै एकादशीको उदय र महत्व बढ्दै आएको हो ।
शुक्ल र कृष्ण गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुई वटाको दरले वर्षभरिमा चौवीसवटा र पुरुषोत्तम मास समेत दुईवटा गरी जम्मा २६ वटा हुन्छन् । त्यसमध्ये तुलसीरोपण एकादशीको नामले जेष्ठशुक्ल एकादशी निर्जला एकादशी यस वर्ष आज परेको छ । तुलसीको मञ्जरी दल छर्ने एकादशी पनि भनिन्छ यस दिनलाई !
सामान्यतया द्धादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्धादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशीतिथि श्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य एक हजार वटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्या सम्मको दोषवाट मुक्ति पाइने र सयौँ अश्वमेधयज्ञ गरेको समेत फल पाइने हुन्छ । शुक्लपक्ष कपुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्धादशी रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा १ वर्षसम्म नित्य १ पाथी तिल दान गरेको वा एकहजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ ।
कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरु पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ । फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । निर्जला एकादशी सकेमा जल समेत ग्रहण नगरेर गरिने उपासना हो । नखाएर मात्रै व्रत उपासना हुने भने होइन । मुख्य कुरा वाणीको व्रत, श्रवणको व्रत, आचरण, तन, मन, धनको पवित्रता, इन्द्रिय निग्रह, देवपूजा, हवन, जप, अनुष्ठान, दान, क्षमाशीलता, सवै नै उपासनाका स्वरुपहरु हुन् । एकादशीमा अन्न खास गरी चामलमा मानिसका दुष्कर्म (पाप) हरु बस्ने भएकाले अन्न नै ग्रहण गर्नु परे पनि चामलको भात र परिकार ग्रहण नगर्ने विधान छ । महिनामा एक दुई दिन अन्न त्यागले शरीरको पाचन क्षमता वृद्धि भई शरीर निरोगी हुन्छ र मुख्य जठराग्नि पनि बलियो हुन्छ ।
व्रतको प्रभाव भने मनको दृढ संकल्प नै हो, मनोवल वृद्धि हो, चित्तशुद्धि हो, धर्म परायण र सात्विकभावको विकास हो । सत्य, धर्म, सदाचार व्यक्ति, समूह, समुदाय र समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । मनोमालिन्य र द्धन्दपूर्ण समाजको कारण मुलुक, राष्ट्र र पूरै ब्रह्माण्ड नै उजाड बन्न पुग्छ । देवत्वभावले दानपारमिताले सवैको संरक्षण हुन्छ । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकहरुले पनि अनुसन्धान, अध्ययन गर्दैछन् । भावना शुद्ध गरी कार्य गरेमा त्यस्तै योजना, उद्धेश्य, रणनीति, कार्यक्रमसंग सहभागी हुन सकेमा समग्र मुलुकको आर्थिक विकास छिटो र समानुपातिक पनि हुन सक्छ ।
काम्य र नित्य गरी व्रतको दुई स्वरुप छन् । उद्धेश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निस्काम व्रतको प्रभावले झन् वढी उद्धेश्य सफल बन्ने हुन्छ- कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशी व्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ । चोरी, हिँसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन संचालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ ।
निर्जला एकादशीको दिन विहानै तुलसीदल छर्ने कार्य गरी श्रीविष्णुको पूजा गरिन्छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरुमा लागि जीवनको ह्रदय झै महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ ।


















